सार्वजनिक निकायमा सम्पत्तिहरू भन्नाले भविष्यको आर्थिक मूल्य र समयसँगै लाभहरू उत्पन्न गर्न सक्ने, संगठनद्वारा स्वामित्व वा नियन्त्रित आर्थिक स्रोतहरूलाई जनाउँछ। सम्पत्तिहरू संस्थाको वित्तीय स्थितिको एक प्रमुख घटक हो र संस्थाको दैनिक सञ्चालन र वृद्धिको लागि सम्पत्ति आवश्यक छ।
कार्यालयलाई आवश्यक पर्ने जिन्सी मालसामानको खरिद योजना बनाउनेदेखि खरिद गर्ने, अभिलेख गर्ने, प्रयोग गर्ने, मर्मत-सम्भार गर्ने, भौतिक अवस्थाको यथार्थ प्रतिवेदन गर्ने र लिलाम, मिनाहा लगायतका समष्टिगत कार्यलाई जिन्सी व्यवस्थापन भनिन्छ। यो कार्यालयमा भौतिक साधन स्रोतको परिचालन एवम् व्यवस्थापनको कार्य हो।
संस्थामा रहेका सम्पत्ति तथा जिन्सी मालसामानहरूको निश्चित आयु हुन्छ। समय बित्दै जाँदा, केही सम्पत्तिहरू मूल्यह्रास (Depreciate) वा टुटफुट हुँदै जान्छन् जसकारण तिनीहरूको मूल्य घट्ने (Depreciation) वा प्रयोगमा ल्याउन नसकिने (Useless) अवस्थामा पुग्नसक्छ। संस्थाको वित्तीय स्वास्थ्य (Fiscal Health), उत्पादकत्व (Productivity) र कार्य दक्षता र प्रभावकारिता (Work Efficiency and Effectiveness) मा वृद्धि गर्नको लागि सम्पत्ति तथा जिन्सी मालसामानहरूको उचित व्यवस्थापन र Tracking महत्त्वपूर्ण हुन्छ। जिन्सी व्यवस्थापन अन्तर्गत सम्पत्ति तथा जिन्सी मालसामानहरूको व्यवस्थापनका प्रक्रियाहरूमध्ये सार्वजनिक निकायमा रहेका सम्पत्ति तथा जिन्सी मालसामानको लिलाम प्रक्रिया पनि पर्दछ।
नेपालको सन्दर्भमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६, ऐ. नियमावली, २०७७, र यी कानूनका अधिनमा रही समग्र सम्पत्ति तथा जिन्सी मालसामान व्यवस्थापनमा सहयोग गर्न मिति २०७६/२/१५ मा महालेखा परीक्षकको कार्यालयबाट स्वीकृत सम्पत्तिको संकेत (Chart of Accounts) को आधारमा सम्पत्तिको लेखाङ्कन र प्रतिवेदन गर्न नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७।०७।२० को निर्णय बमोजिम सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (PAMS-Public Assets Management System) सञ्चालन गरिएको छ । सङ्घीय सरकारका सबै कार्यालयहरूमा सम्पत्ति तथा जिन्सी मालसामानको लिलाम विक्री गर्ने प्रक्रियालाई पारदर्शी एवं सरलीकृत बनाउन तथा एकरूपता कायम गर्न आवश्यक देखी महालेखा नियन्त्रक कार्यालयले नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७९।०२।३१ मा स्वीकृत गराई “सरकारी सम्पत्ति तथा जिन्सी मालसामान लिलाम विक्री सम्बन्धी कार्यविधि, 207९” जारी गरेको अवस्था छ। उक्त कार्यविधिको विपरीत नहुने गरी प्रदेश सरकार वा स्थानीय तहले समेत कार्यविधि बनाई लागू गर्न सक्ने गरी सो कार्यविधिको अवलम्बन गर्नु पर्ने व्यवस्था गरेको छ।
सरकारी सम्पत्ति तथा जिन्सी मालसामान लिलाम विक्री सम्बन्धी कार्यविधि, २०७९ ले गरेका केही परिभाषाहरू
१. जिन्सी मालसामान – कार्यालयले खरिद वा अन्य माध्यमबाट प्राप्त गरी आम्दानी बाँधेको खर्च भएर जाने मालसामान।
२. सम्पत्ति – कार्यालयले स्रेस्तामा आम्दानी बाँधिएका एक वर्षभन्दा बढी अवधि खप्ने सम्पत्ति ।
३. लिलाम – सम्पत्ति तथा जिन्सी निरीक्षण गर्दा टूटफुट तथा बेकम्मा भई पुनः प्रयोग गर्न नसकिने, मर्मत गरी पुनः प्रयोग गर्न सकिने भए तापनि सामानको पार्टपूर्जा नपाइने र मर्मत गर्दा उक्त सामानको बजार मूल्यको पच्चीस प्रतिशत भन्दा बढी खर्च हुने वा प्रविधि पुरानो भएको कारण प्रयोग गर्दा कार्यकुशलता घट्ने भनी सम्पत्ति तथा जिन्सी निरीक्षण प्रतिवेदनमा उल्लेख भएको सम्पत्ति तथा जिन्सी सामान विक्री गर्ने कार्य।
लिलाम प्रक्रिया
साविकको आर्थिक कार्यविधि ऐन, २०६३ र ऐ. नियमावली, २०६४ लाई विस्थापित गर्दै जारी भएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र ऐ. नियमावली, २०७७ ले सार्वजनिक निकायमा भएका सम्पत्ति तथा जिन्सी मालसामान व्यवस्थापनलाई समयसापेक्ष सरलीकृत, प्रविधिमैत्री एवं नतिजामूखी बनाउनमा टेवा पुर्याएको देखिन्छ। सार्वजनिक निकायमा रहेका सम्पत्ति तथा जिन्सी निरीक्षण गर्दा टूटफुट तथा बेकम्मा भई पुनः प्रयोग गर्न नसकिने, मर्मत गरी पुनः प्रयोग गर्न सकिने भए तापनि सामानको पार्टपूर्जा नपाइने र मर्मत गर्दा उक्त सामानको बजार मूल्यको पच्चीस प्रतिशत भन्दा बढी खर्च हुने वा प्रविधि पुरानो भएको कारण प्रयोग गर्दा कार्यकुशलता घट्ने भनी सम्पत्ति तथा जिन्सी निरीक्षण प्रतिवेदनमा उल्लेख भएको सम्पत्ति तथा जिन्सी सामान विक्री गर्ने कार्यलाई लिलाम भनिन्छ र लिलाम कार्यका लागि अपनाइने प्रक्रियालाई लिलाम प्रक्रिया भनिन्छ। कार्यालयका सम्पत्ति तथा जिन्सी मालसामानको लिलाम प्रक्रिया अन्तर्गतको लिलाम बढाबढको सूचना प्रकाशन सम्मको प्रक्रियाको FLOWCHART तल दिइएको छ।
सार्वजनिक निकायको स्वामित्वमा रहेको सम्पत्ति तथा जिन्सी मालसामान लिलाम विक्री गर्दा अपनाइने प्रक्रियाका सम्बन्धमा देहायका कानूनले Procedure निर्दिष्ट गरेको पाइन्छ।
१. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६
२. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७
३. सरकारी सम्पत्ति तथा जिन्सी मालसामान लिलाम विक्री सम्बन्धी कार्यविधि, २०७९
जिन्सी लिलाम सम्बन्धी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ तथा ऐ. नियमावली २०७७ र सरकारी सम्पत्ति तथा जिन्सी मालसामान लिलाम विक्री सम्बन्धी कार्यविधि, 207९ मा भएको व्यवस्था
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ मा भएको व्यवस्था
१. दफा ४५ लिलाम विक्री
– जिन्सी निरीक्षण गर्दा टुटफुट तथा बेकम्मा भई पुनः प्रयोग गर्न नसकिने,
– प्राविधिकबाट निरीक्षण गर्दा कुनै जिन्सी मालसामान मर्मत गरी पुनः प्रयोग गर्न सकिने भए तापनि सामानको पार्टपूर्जा नपाइने र मर्मत गर्दा उक्त सामानको बजार मूल्यको २५% भन्दा बढी खर्च हुने वा प्रविधि पुरानो भएको कारण प्रयोग गर्दा कार्यकुशलता घट्ने भनी प्रतिवेदनमा उल्लेख भएको मालसामानहरू कार्यालय प्रमुखले जाँचबुझ गर्दा लिलाम विक्री गर्नुपर्ने भनी ठहर्याएमा तोकिए बमोजिमको कार्यविधि अपनाई लिलाम गर्न सकिने।
२. दफा ४६ मिनाहा
– यो ऐन अन्तर्गत उठ्न नसकेको सरकारी बाँकी रकम प्राकृतिक प्रकोप, दुर्घटना वा आफ्नो काबू बाहिरको परिस्थितिले गर्दा तथा सुख्खाजर्ती भई वा खिएर, सडेर गई वा अन्य कारणबाट हानि नोक्सानी हुन गएको वा कानून बमोजिम लिलाम बढाबढ हुँदा पनि नउठेको वा उठ्ने स्थिति नदेखिएको मालसामान र प्रविधि पुरानो भई प्रयोगमा ल्याउन नसकिने, सुरक्षाको कारणले प्रयोग गर्न उपयुक्त नहुने सामान तथा सफ्टवेयर प्राविधिक प्रतिवेदनको आधारमा तोकिए बमोजिम मिनाहा दिन सकिने।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ मा भएको व्यवस्था
१. नियम ९९ सरकारी सम्पत्ति तथा जिन्सी मालसामानको निरीक्षण
लगत खडा गरी अभिलेख राखिएको सम्पत्ति तथा जिन्सी मालसामानको मौजुदा अवस्थाको सम्बन्धमा कार्यालय प्रमुखले वर्षमा कम्तीमा १ पटक आफैँ वा त्यस्तो मालसामान जिम्मा लिने कर्मचारी बाहेक अन्य कर्मचारीको नेतृत्वमा कम्तीमा ३ सदस्यीय समिति गठन गरी उक्त समितिबाट निरीक्षण गरी गराई महालेखा परीक्षकबाट स्वीकृत ढाँचामा सम्पत्ति तथा जिन्सी निरीक्षण प्रतिवेदन लिनु पर्ने।
– सम्पत्ति तथा जिन्सी निरीक्षण प्रतिवेदन ( म.ले.प.फा.नं. ४११ को ढाँचामा) मा देहायका कुरा खुलाउनु पर्ने
क. जिन्सी किताबमा आम्दानी बाँधिएको जिन्सी मालसामानको संख्या र मौजुदा अवस्था
ख. आम्दानी नबाँधिएको मालसामान फेला परेमा सोको संख्या र मौजुदा अवस्था
ग. जिन्सी मालसामानको संरक्षण र सम्भार भए वा नभएको व्यहोरा
घ. मर्मत सम्भार गर्नु पर्ने मालसामानको विवरण
ङ. टुटफूट तथा बेकम्मा भई पुनः प्रयोग गर्न नसकिने, मर्मत गरी पुनः प्रयोग गर्न सकिने भए तापनि सामानको पार्टपुर्जा नपाइने, मर्मत गर्दा उक्त सामानको बजार मूल्यको २५% भन्दा बढी खर्च हुने, वा प्रविधि पुरानो भएको कारण प्रयोग गर्दा कार्यकुशलता घट्ने अवस्था भए/नभएको व्यहोरा
च. जिन्सी मालसामानको प्रयोग भए वा नभएको, हानि नोक्सानी भए वा नभएको, हानि नोक्सानी भएको भए कसको लापरवाहीबाट भएको हो सोको विवरण
छ. एकै किसिमको सम्पत्ति तथा जिन्सी मालसामान मध्ये गत वर्ष उपयोग भएको परिमाण र चालू आर्थिक वर्षमा खरिद गरिएको परिमाणको तुलनात्मक विवरण,
ज. जिन्सी निरीक्षण सम्बन्धमा महालेखा नियन्त्रक कार्यालयले तोकिदिएको अन्य कुरा।
प्रतिवेदन उपर कारबाही
१. आम्दानी बाँध्न छुट भएको जिन्सी मालसामानको हकमा कार्यालय प्रमुखले त्यस्तो मालसामान रहेको देखिएमा सोको मूल्य र विवरण खुलाई आम्दानी बाँध्ने र त्यस्तो मालसामानको मर्मत सम्भार, संरक्षण र लिलाम विक्री गर्नु गराउनु पर्नेछ। (उपनियम ३)
२. प्रतिवेदनको एक प्रति तालुक कार्यालयमा पठाउनु पर्ने, तालुक कार्यालयले उक्त प्रतिवेदनको विषयमा १ महिनाभित्र कुनै निर्देशन दिएमा कार्यालय प्रमुखले सो समेतलाई विचार गरी र सो अवधिभित्र कुनै निर्देशन प्राप्त नभएमा लिलाम विक्री गर्नुपर्ने सम्पत्ति तथा जिन्सी मालसामानको हकमा नियम १०६ बमोजिम लिलाम विक्री गर्ने र मर्मत सम्भार गर्नुपर्ने मालसामानको हकमा ३ महिनाभित्र मर्मत सम्भार गरिसक्नु पर्नेछ। (उपनियम ४)
२. नियम १०६ लिलाम विक्री गर्ने
– नियम ९९ बमोजिम टुटफूट तथा बेकम्मा भई पुनः प्रयोग गर्न नसकिने, मर्मत गरी पुनः प्रयोग गर्न सकिने भए तापनि सामानको पार्टपुर्जा नपाइने, मर्मत गर्दा उक्त सामानको बजार मूल्यको २५% भन्दा बढी खर्च हुने, वा प्रविधि पुरानो भएको कारण प्रयोग गर्दा कार्यकुशलता घट्ने भनी सम्पत्ति तथा जिन्सी निरीक्षण प्रतिवेदनमा उल्लेख भएको मालसामानमध्ये कार्यालय प्रमुखले लिलाम गर्नुपर्ने भनी ठहराएको मालसामान त्यस्तो प्रतिवेदन प्राप्त भएको मितिले १ महिनाभित्र लिलाम विक्रीको प्रक्रिया शुरु गर्नु पर्नेछ।
– कार्यालयले लिलाम विक्री गर्ने निर्णय गर्दा निर्माण वा खरिद भएको मितिले तपसिल बमोजिमको अवधिभन्दा कम अवधि भएको मालसामान प्राविधिकबाट निरीक्षण गराई प्रतिवेदन लिएर मात्र लिलाम गर्नु पर्ने वा नपर्ने यकीन गर्नु पर्नेछ
तपसिल
o कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी, सर्भर लगायत सूचना प्रविधिजन्य मालसामान – ५ वर्ष
o फर्निचर – १० वर्ष
o अन्य मेशिनरी औजार – १५ वर्ष
o सवारी साधन – २० वर्ष
– लिलाम विक्री गर्ने निर्णय गर्दा माथि उल्लिखित अवधिभन्दा बढी अवधिको मालसामान कार्यालय प्रमुखले भण्डार शाखा प्रमुख, आर्थिक प्रशासन शाखा प्रमुख र कार्यालयमा उपलब्ध भएसम्म सम्बन्धित मालसामानको जानकारी राख्ने कर्मचारी समेतको राय लिनु पर्नेछ।
– घर, जग्गा जस्ता स्थिर सम्पत्ति नेपाल सरकारको निर्णय बेगर लिलाम विक्री गर्न पाइने छैन।
तर पुरानो घर भत्काई नयाँ बनाउन वा अन्य कुनै कारणले पुरानो घर भत्काउँदा निस्किएको सामग्री सम्बन्धित केन्द्रीय निकायको स्वीकृतिमा कार्यालय प्रमुखले लिलाम विक्री गर्न बाधा पुगेको मानिने छैन।
३. नियम १०७ लिलाम गर्ने सम्पत्ति तथा जिन्सी मालसमानको मूल्याङ्कन
लिलाम विक्री गर्ने प्रयोजनको लागि सम्पत्ति तथा जिन्सी मालसामानको मूल्याङ्कन गर्न केन्द्रीय निकाय, विभाग र अन्य केन्द्रीयस्तरको कार्यालयबाहेक अन्य कार्यालयको हकमा देहायको एक समिति रहनेछ
– सम्बन्धित कार्यालयको प्रमुख वा निजले तोकेको अधिकृत – संयोजक
– सम्बन्धित प्रमुख जिल्ला अधिकारीले तोकेको अधिकृतस्तरको प्राविधिक कर्मचारी – सदस्य
– कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रतिनिधि – सदस्य
o प्राविधिक कर्मचारी तोक्दा यथासम्भव सम्बन्धित सम्पत्ति तथा जिन्सी मालसामानको ज्ञान भएको कर्मचारी तोक्नु पर्ने
o समितिले विशेष प्रकृतिको मालसामानको हकमा सम्बन्धित विषयको प्राविधिकको सहयोग लिई मूल्याङ्कन गर्न गराउन सक्ने
o लिलाम विक्री गर्ने प्रयोजनको लागि सम्पत्ति तथा जिन्सी मालसामानको मूल्याङ्कन गर्दा तपसिल बमोजिमको दररेटबाट घट्दो ह्रास कट्टी विधि प्रयोग गरी मूल्य कायम गर्नु पर्ने
लिलाम गर्ने सम्पत्ति तथा जिन्सी मालसामानको मूल्याङ्कनको ह्रास कट्टी दररेट
क्र.सं. विवरण ह्रास कट्टी दर
१. कम्प्युटर तथा सूचना प्रविधिसँग सम्बन्धित उपकरण २५%
२. फर्निचर तथा फिक्चर्स २५%
३. अटोमोबाइल्स, बस तथा मिनीबस २०%
४. निर्माण तथा उत्खनन् सम्बन्धी उपकरण १५%
५. अन्य मेशिनरी औजार १५%
o नियम १०६ मा उल्लेखित अवधि भन्दा बढि अवधि भएको मालसमानको मूल्याङ्कन गर्दा कायम भएको परल मूल्यामा वा नियम ९६ बमोजिम कायम मूल्यमा माथि उल्लेखित दरले ह्रास कट्टी गरी हुने मूल्य कायम गर्नु पर्ने।
o नियम १०६ को अवधि भन्दा कम अवधि भएको मालसमानको मूल्य कायम गर्दा समितिले ह्रास कट्टी पछिको मूल्यमा समान प्रकृतिको पुरानो मालसामान विक्री हुन सक्ने मूल्यलाई समेत विचार गरी न्यूनतम मूल्य सिफारिस गर्नु पर्ने
o नियम १०८ को उपनियम (६) बमोजिम लिलाम विक्री हुन नसकेको अवस्था भएमा समितिबाट सो सम्पत्ति तथा जिन्सी मालसामानको पुनः मूल्याङ्कन गराई लिलाम विक्री मूल्य कायम गर्नु पर्नेछ।
४. नियम १०८ लिलाम विक्री गर्ने विधि
– मूल्य कायम भएको मालसमान देहाय बमोजिम लिलाम बढाबढ गरी लिलाम विक्री गर्नुपर्नेछ (उपनियम (१))
क. रू. ३,००,०००।०० सम्म मूल्य कायम भएको मालसामान भए ७ दिनको म्याद दिई
– लिलाम विक्री गर्ने कार्यालय
– सम्बन्धित जिल्ला प्रशासन कार्यालय
– कोष तथा लेखा नियन्त्रक कार्यालय
मा सूचना टाँस गरेर
ख. रू.३,००,०००।०० भन्दा बढी रू.१०,००,०००।०० सम्म मूल्य कायम भएको मालसामान भए स्थानीयिस्तरको पत्रिकामा १५ दिनको म्याद दिई सूचना प्रकाशन गरेर
ग. रू.१०,००,०००।०० भन्दा बढी मूल्य कायम भएको मालसामान भए राष्ट्रियस्तरको पत्रिकामा २१ दिनको म्याद दिई सूचना प्रकाशन गरेर
o सूचनालाई लिलाम विक्री गर्ने कार्यालयको वेबसाइटमा समेत राख्नु पर्ने (उपनियम (२))
o सूचनामा खुलाउनु पर्ने विवरण (उपनियम (३)) (मालसामानको विवरण; मूल्य; लिलाम हुने स्थान, मिति र समय; बढाबढ शुरु हुने न्यूनतम मूल्य; लिलाम सकार गर्न डाँक बोल्नु अघि नै मूल्यको ५% ले हुने नगद धरौटी राख्नु पर्ने कुरा र डाँक अङ्क बढ्दै गएमा सोही अनुपातमा धरौटी थप गर्दै जानु पर्ने कुरा; लिलाम सकार गरेको मालसामान उठाई लैजानु पर्ने अवधि; अन्य आवश्यक कुराहरू)
o बोलपत्रबाट लिलाम विक्री गर्न मनासिब देखिएमा सोको व्यवस्था (उपनियम(४))
o लिलाम सकार गर्न चाहने व्यक्ति, फर्म, संस्था वा कम्पनीले देहाय बमोजिमको रकम तिरी सम्बन्धित कार्यालयबाट सो कार्यालयको कार्यालय प्रमुख वा निजले तोकेको कर्मचारीको दस्तखत र कार्यालयको छाप लागेको बोलपत्र फाराम किन्नु पर्नेछ
क. रू.१०,००,०००।०० सम्म न्यूनतम मूल्य कायम भएको बोलपत्रको लागि रू.१,०००।००
ख. रू.१०,००,०००।०० भन्दा माथि जतिसुकै रकम न्यूनतम मूल्य कायम भएको बोलपत्रको लागि रू.२,०००।००
o पहिलो पटक लिलाम विक्री हुन नसकेमा उपनियम (१) बमोजिमको म्यादको आधा म्याद दिई पुनः लिलाम विक्रीको कारबाही गर्नु पर्नेछ। (उपनियम (६))
o यसरी लिलाम विक्रीको लागि पुनः बोलपत्र आह्वान गर्दा समेत विक्री हुन नसकेमा कायम न्यूनतम मूल्यमा वार्ताद्वारा सोझै विक्री गर्न सकिनेछ। (उपनियम (७))
o उपनियम (७) बमोजिम विक्री हुन नसकेमा नियम १०७ को उपनियम (१) बमोजिमको समितिबाट पुनः मूल्याङ्कन गराई कायम मूल्यमा वार्ताद्वारा सोझै विक्री गर्न सकिनेछ। (उपनियम (८))
o उपनियम (८) बमोजिमको प्रक्रियाबाट समेत विक्री हुन नसकेमा कार्यालय प्रमुखले कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रतिनिधि र जिल्ला प्रशासन कार्यालयको अधिकृत प्रतिनिधिको रोहवरमा वार्ताद्वारा लिलाम कबोल रकम कायम गरी सोझै विक्री गर्नु पर्नेछ।
सरकारी सम्पत्ति तथा जिन्सी मालसामान लिलाम विक्री सम्बन्धी कार्यविधि, 207९ मा भएको व्यवस्था
लिलाम गर्ने मालसामानको विवरण तयार गर्ने
१. कार्यालयको जिन्सी शाखाले सम्पत्ति तथा जिन्सी निरीक्षण प्रतिवेदनमा लिलाम विक्री गर्नुपर्ने भनी पहिचान भएको सम्पत्ति तथा जिन्सी मालसामानको विवरण तयार गर्ने
२. यसरी तयार भएको विवरण कार्यालय प्रमुखसमक्ष पेश गरी स्वीकृति पश्चात् लिलाम विक्रीको प्रक्रिया अगाडि बढाउने
न्यूनतम मूल्य कायम गर्ने विधि
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम १०७ को उपनियम (१) बमोजिमको समिति मार्फत न्यूनतम मूल्य कायम गर्नुपर्ने सोको लागि देहायको प्रक्रिया अपनाउने
१. नियम १०६ को उपनियम (२) मा उल्लेखित अवधिभन्दा बढी अवधि भएका लिलाम गर्नुपर्ने सम्पत्ति तथा जिन्सी मालसामानको मूल्याङ्कन गर्दा ह्रासकट्टी गरी लिलाम विक्रीको लागि न्यूनतम मूल्य सिफारिस गर्ने
२. नियम १०६ को उपनियम (२) मा उल्लेखित अवधिभन्दा कम अवधि भएका सम्पत्ति तथा जिन्सी मालसामान लिलाम गर्नुपर्ने भएमा त्यस्ता सम्पत्ति तथा मालसामानको जानकार प्राविधिकबाट निरीक्षण गराई प्रतिवेदन लिएर लिलाम विक्री गर्नुपर्ने यकीन गरी लिलाम गर्न मूल्य कायम गर्नुपर्दा र नियमावलीको १०८ उपनियम (८) बमोजिम पुनः मूल्याङ्कन गर्नुपर्दा ह्रासकट्टी पछीको मूल्यमा देहायको विषयलाई समेत मध्येनजर गरी न्यूनतम मूल्य सिफारिस गर्ने
क. कुनै कार्यालयले यस अघि लिलाम विक्री गरेको यस्तै प्रकृतिको सम्पत्ति तथा जिन्सी मालसामानको दररेट माग गरेर
ख. पूराना सम्पत्ति तथा जिन्सी मालसामानको खरिद विक्री गर्ने फर्म, कम्पनी वा व्यवसायिक संघ संस्थाबाट दररेट माग गरेर
ग. माथि उल्लेखित विधिबाट समेत दररेट प्राप्त हुन नसकेमा समितिले आपसी छलफलबाट लिलाम विक्री हुन सक्ने गरी दररेट निर्धारण गरेर
३. समितिले लिलाम विक्री गर्नुपर्ने सम्पत्ति तथा जिन्सी मालसामानको मूल्याङ्कन फाराम तयार गर्ने
४. मूल्याङ्कन फाराम तयार भएपछि समितिले मूल्याङ्कन प्रतिवेदन तयार गरी कार्यालय प्रमुख समक्ष पेश गर्ने
लिलाम बढाबढको माध्यमबाट लिलाम विक्री गर्दा अपनाउनुपर्ने विधि
१. कार्यालयले लिलाम बढाबढको प्रक्रिया सुरु गर्नु पूर्व जिन्सी शाखाले अनुसूची-५ बमोजिमको ढाँचामा सूचना तयार गर्नुपर्ने
२. तयार भएको सूचनामा कायम गरिएको न्यूनतम मूल्य कार्यालय प्रमुख वा निजले तोकेको अधिकारीबाट स्वीकृत गराउनुपर्ने
३. सूचना अनुसार डाँक बोल्न आएका सम्पूर्ण व्यक्तिहरूबाट डाँक सुरु हुनु अघि न्यूनतम कायम मूल्यको ५ प्रतिशतले हुने रकम नगद धरौटी बुझी नाम दर्ता गर्नु पर्ने
४. नाम दर्ता पछि प्रत्येक पटक डाँक बोल्न चाहनेबाट निजले बोल्न चाहेको मूल्यको ५ प्रतिशतले हुने गरी थप रकम नगद धरौटी लिनुपर्ने
५. तोकिएको समय सकिने वित्तीकै अन्तिम डाँक बोल्ने व्यक्तिले कबोल गरेको मूल्यलाई सबैले सुन्ने गरी “यो नै अन्तिम मूल्य भयो” भनी घोषणा गर्ने
६. लिलाम बढाबढको माध्यमद्वारा लिलाम विक्री गर्दा लिलाम बढाबढको अभिलेख फाराम तयार गर्नुपर्ने जसमा बोलकबोल गर्नेको नाम थर, ठेगाना, बोलकबोल अङ्क, ५% ले हुने धरौटी रकम र बोलकबोल गर्नेको दस्तखत अभिलेखन गर्ने
७. डाँक बढाबढको लागि उपस्थित सबैको रोहवरमा अधिकतम डाँक बोल्नेको नाम, ठेगाना र अङ्क उल्लेख गरी मुचुल्का तयार गर्ने
८. डाँक बढाबढको कार्य समाप्त भएपछि कार्यालयले अधिकतम डाँक बोल्नेसँग (लिलाम सकार गर्नेसँग) लिलाम विक्रीको सम्झौता गर्ने
कार्यालयले सम्पत्ति तथा जिन्सी मालसामानको लिलाम विक्री नियमावलीको नियम १०८ उपनियम (४) बमोजिम बोलपत्रको माध्यमबाट गर्न मनासिव देखेमा बोलपत्रको माध्यमबाट लिलाम विक्री गर्न सक्ने
बोलपत्रको माध्यमबाट लिलाम विक्री गर्दा अपनाउनुपर्ने विधि
१. कार्यालयको जिन्सी शाखाले मूल्याङ्कन समितिबाट प्राप्त न्यूनतम मूल्याङ्कन प्राप्त भएपछि लिलाम गर्ने सम्पत्तिमध्ये आवश्यकता अनुसार एकै प्रकृतिका सम्पत्तिलाई प्याकेजिङ्ग गरी लिलाम विक्रीका लागि सूचना प्रकाशन गर्ने र बोलपत्र फाराम तयार गरी कार्यालय प्रमुख वा निजले तोकेको कर्मचारीबाट स्वीकृत गराउनु पर्ने
२. प्रकाशित सूचना अनुसार लिलाम विक्रीको बोलपत्र फाराम खरिद गर्न चाहने व्यक्ति, फर्म, संस्था वा कम्पनीसँग पछि फिर्ता नहुने गरी १० लाख रूपैँयासम्म न्यूनतम मूल्य कायम भएको बोलपत्रको लागि रू. १०००।०० र सोभन्दा माथि जतिसुकै रकम न्यूनतम मूल्य कायम भएको बोलपत्रको लागि रू. २०००।०० रकम लिई बोलपत्र फाराम विक्री गर्नुपर्ने, बोलपत्र फाराम कार्यालय प्रमुख वा निजले तोकेको कर्मचारीबाट दस्तखत भएको र कार्यालयको छाप लागेको हुनु पर्ने
३. सूचनामा तोकिएको अवधिभित्र पेश गर्न ल्याएका बोलपत्र फाराम बोलपत्र दर्ता किताब खडा गरी दर्ता गरी राख्नु पर्ने, दर्ता भएका बोलपत्रहरू सुचनामा तोकिएको मिति र समयमा खोली सोको मुचुल्का तयार गर्नुपर्ने
४. दर्ता भएका बोलपत्रहरुको सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४७ बमोजिमको मूल्याङ्कन समिति गठन गरी मूल्याङ्कन गराउनु पर्ने, मुल्याङ्कन पश्चात् सबैभन्दा बढी रकम कबोल गर्ने रीतपूर्वकको योग्य बोलपत्रदातासँग सम्झौता गर्न सिफारिस गर्नुपर्ने
५. कार्यालयले मूल्याङ्कन समितिबाट सिफारिस भई आएको सबैभन्दा बढी रकम कबोल गर्ने योग्य बोलपत्रदातालाई ७ दिनको म्याद दिई सम्झौता गर्न आउनका लागि सबै बोलपत्रदाताहरूले समेत जानकारी पाउने गरी पत्रमार्फत सूचना दिनु पर्ने र त्यस्तो सूचना कार्यालयको सूचना पाटी तथा वेबसाईटमा समेत प्रकाशन गर्ने
६. म्याद भित्र कुनै दाबी विरोध नआएमा कार्यालयले बोलपत्रदातासँग सम्झौतापत्रमा हस्ताक्षर गर्नुपर्ने
पहिलो पटक लिलाम विक्री हुन नसकेका सम्पत्ति तथा जिन्सी मालसामान पुनः लिलाम विक्री गर्ने व्यवस्था गर्न सक्ने, सोको लागि पहिलो पटक दिएको सूचनाको आधा अवधि दिई सूचना प्रकाशन गर्नुपर्ने र यसरी दोस्रो पटक सूचना गर्दा समेत लिलाम विक्री हुन नसकेमा न्यूनतम मूल्यमा वार्ताद्वारा सोझै विक्रीबाट लिलाम गर्न सकिने व्यवस्था रहेको छ।
यसरी सोझै विक्रीको प्रक्रियाबाट समेत लिलाम विक्री हुन नसकेमा मूल्याङ्कन समितिबाट पुनः मूल्य कायम गराई कायम भएको मूल्यमा वार्ताद्वारा सोझै विक्री गर्न सकिने र यस प्रक्रियाबाट समेत विक्री हुन नसकेमा कार्यालयले वार्ताद्वारा लिलाम कबोल रकम कायम गरी सोझै विक्री गर्न सक्ने व्यवस्था रहेको छ।
लिलाम प्रक्रियामा देखिएका समस्या तथा तिनको समाधानका उपायहरू
सार्वजनिक निकायमा रहेका सम्पत्तिहरूको लिलाम प्रक्रियमा अनेकन समस्याहरू देखिएका छन्। केहि समस्याहरूको समाधान PAMS प्रणाली लागू भएपछि घटेको देखिए तापनि केहि समस्याहरू अझै पनि विद्यमान छन् ।
१. लिलाम प्रक्रियालाई कार्यालयको एक नियमित प्रक्रिया नमानी झन्झटिलो प्रक्रिया मान्ने गरिएको,
२. न्यूनतम वर्षमा एकपटक गर्नुपर्ने जिन्सी निरीक्षण झारा टार्ने प्रकृतिको मात्र रहेको, यसले औल्याएको कैफियतलाई नजरअन्दाज गर्ने गरिएको,
३. खप्ने र नखप्ने सामान छुट्टयाउने खास/स्पष्ट आधार विकास गरिएको छैन। PAMS प्रणाली लागू भएपश्चात् केही सुधार देखिएको तथापी कार्यालयले खप्ने सामानलाई नखप्ने सामानमा प्रविष्टी गर्ने सम्भावना रहेको छ। यसले लिलाम विक्री गरी राजस्व आम्दानी गर्न सकिने सम्पत्ति तथा जिन्सी मालसामानहरू निकासा गरी खर्च भएको जनाउने जोखिम बढेको,
४. लिलाम विक्री प्रयोजनका लागि विशेष प्रकृतिका जिन्सी मालसामानको ज्ञान भएका प्राविधिक कर्मचारीको उपलब्धता नहुनु, भएका कर्मचारीको संख्या एकदमै न्यून हुनुले लिलाम विक्री गर्ने प्रक्रियामा ढिलाई हुने गरेको,
५. सम्पत्ति तथा जिन्सी मालसामानको पहिचान खुल्ने गरी सम्बन्धित सामानमा इङ्गित नगरिनु, खप्ने खाता/PAMS प्रणालीमा Model, Specification, Serial no., सवारी साधनको हकमा Engine तथा Chassis नं. नखुलाई प्रविष्टी गर्नु जसकारण एउटा सम्पत्तिको सट्टा अर्कोको लिलाम हुने जोखिम रहको जस्ता समस्याहरूको समाधान अझै पनि भएको देखिँदैन।
माथि दर्शाइएका समस्याहरूको समाधानका लागि
१. जिन्सी व्यवस्थापनमा संलग्न कर्मचारीलाई जिन्सी व्यवस्थापनको तालिम दिई दक्ष बनाउने,
२. जिन्सी निरीक्षणलाई कर्मचारीको कार्यसम्पादनको एक सूचक बनाउने,
३. खप्ने र नखप्ने सामान छुट्याउने खास/स्पष्ट आधार विकास गर्ने, जिन्सी व्यवस्थापनका लागि महालेखा नियन्त्रक कार्यालयले तयार पारेको PAMS प्रणालीमा समयसापेक्ष सुधार गर्ने, कार्यालयले पत्राचार गरेर मात्र नखप्ने सामग्रीहरूको सूची PAMS मा प्रदान गर्ने,
४. विशेष प्रकृतिका जिन्सी मालसामानको ज्ञान भएका प्राविधिक कर्मचारीलाई उस्तै प्रकारका मालसामान भएका कार्यालयहरूको एकीकृत लगत तयार गरी तालुक विभागले जिन्सी लिलामको प्रक्रियाका लागि मातहतसँग विवरण माग गरी लिलाम प्रक्रियामा Facilitation गर्ने,
५. कार्यालयले सम्पत्ति तथा जिन्सी मालसामान दाखिला गरेको निश्चित अवधिभित्र पहिचान खुल्ने गरी दाखिला गरेको मालसामानमा सपष्ट देखिने गरी पहिचान इङ्गित गरेर राख्ने, PAMS प्रणालीमा खप्ने सामानको हकमा अनिवार्य MODEL, Specification, Serial no., सवारी साधनका हकमा Engine तथा Chassis नं. आदि खुलाई प्रविष्टि गर्न लगाउने।
निष्कर्ष
नेपालमा जिन्सी मालसामानमा ठूलो लगानी छ, यसमा दुरुपयोगको अवस्था पनि विद्यमान छ । त्यसकारण जिन्सीमा भएको सरकारी लगानीको सही सदुपयोग गर्नका लागि नेपालको सार्वजनिक प्रशासनमा जिन्सी व्यवस्थापनको महत्व छ। नेपालमा जिन्सी व्यवस्थापनलाई व्यवस्थित गर्न कानुनी एवम् संस्थागत व्यवस्था गरिएको छ । सार्वजनिक खरिद ऐन, नियम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, नियम, महालेखा परीक्षकको कार्यालय, महालेखा नियन्त्रक कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, सार्वजनिक खरिद अनुगमनको कार्यालय, जिन्सी मलेप फारामको व्यवस्था भएतापनि नेपालमा जिन्सी व्यवस्थापन कार्य अझै व्यवस्थित हुन सकेको पाइँदैन।जिन्सी व्यवस्थापनमध्येकै सबैभन्दा जटील एवं झन्झटिलो मान्दै आएको लिलाम प्रक्रियालाई सरलीकरण गर्न सरोकारवाला निकायले थप चासो दिनु पर्ने आवश्यकता देखिन्छ। लिलाम प्रक्रिया सरलीकरणले राजस्व संकलनमा समेत टेवा पुग्ने र कतिपय कार्यालयका प्राङ्गणमा पत्रु अवस्थामा रहेका थोत्रो सवारी साधन तथा अन्य मालसामान Dump भएर रहने गरेका दृश्यलाई रूपान्तरण गरी फूलबारी व्यवस्थापन भई सुन्दर दृश्य मार्फत सेवाग्राहीमा समेत सकारात्मक सन्देश जाने थियो।
सन्दर्भ सामग्री
१. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६, ऐ. नियमावली, २०७७
२. सार्वजनिक खरिद ऐन, २०६३, ऐ. नियमावली, २०६४
३. सरकारी सम्पत्ति तथा जिन्सी मालसामान लिलाम विक्री सम्बन्धी कार्यविधि, 207९
४. महालेखा नियन्त्रक कार्यालयबाट तयार गरिएको PAMS user manual
I don’t commonly comment but I gotta say regards for the post on this perfect one : D.